शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

शिक्षक महासंघद्वारा माओवादी पार्टी कार्यालयमा धर्ना

शुक्रबार, भाद्र १३ २०८२

काठमाडाैं । विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग गर्दै नेपाल शिक्षक महासंघले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय, पेरिसडाँडामा धर्ना दिएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार सरकारले विगतमा गरेको सहमति कार्यान्वयन नगरेकाले पहिलो चरणको आन्दोलन अन्तर्गत पार्टी कार्यालय अगाडि धर्ना कार्यक्रम सुरु गरिएको हो। प्रतिनिधि सभामा पुगेको विद्यालय शिक्षा विधेयकमा शिक्षक तथा महासंघका माग समेटिन नसकेकाले दबाबस्वरूप धर्ना गरिएको उनले बताए।

महासंघले अस्थायी शिक्षक स्थायीकरणको प्रक्रिया आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत र खुला प्रतिस्पर्धाबाट २५ प्रतिशत हुने व्यवस्था गर्नुपर्ने माग अघि सारेको छ। तर, समितिबाट पारित विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था गरिएको छ।

यस्तै, विद्यालय कर्मचारीको पद र तलब भत्ता सुनिश्चित नगरिएको, बालकक्षा शिक्षकका लागि स्पष्ट सेवा–सुविधा उल्लेख नभएको, संस्थागत विद्यालय शिक्षकको सेवा संरचना र सरुवा प्रणाली अव्यावहारिक रहेको भन्दै महासंघ असन्तुष्ट बनेको छ।

महासंघले धर्ना कार्यक्रम भदौ २० सम्म निरन्तर सञ्चालन गर्ने जनाएको छ। यसक्रममा भदौ १३ गते देशभरका स्थानीय तह कार्यालयमा र भदौ १५ गते जिल्ला शिक्षा इकाई कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ।

विद्यालय शिक्षा विधेयकलाई शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले भदौ ५ गते प्रतिनिधि सभामा पठाएको थियो। सो विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका थिए।