काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा कार्यरत दक्ष जनशक्तिलाई मासिक २ लाख रुपैयाँसम्म तलब दिने व्यवस्था गरिएको घोषणा गरेका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री ओलीले उक्त कदमले आईटी जनशक्तिको पलायन रोक्ने र सरकारी सेवामा पारदर्शिता बढाउने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भनेका छन्, “आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ । यसबाट अनलाइनमार्फत सरकारी सेवा विस्तार गर्दा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ । साथै, आईटी जनशक्ति विदेश पलायन हुनबाट रोकिनेछ र सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउन मद्दत हुनेछ ।”
सरकारको यो घोषणालाई सूचना प्रविधि क्षेत्रमा अध्ययन–रोजगारी गरिरहेका युवाका लागि सकारात्मक कदमका रूपमा लिइएको छ ।