शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अबदेखि प्रधानन्यायाधीशले नै संवैधानिक इजलासका न्यायाधीशहरू छनोट गर्ने

बुधबार, भाद्र ११ २०८२

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अबदेखि संवैधानिक इजलासका न्यायाधीशहरू आफूले नै छनोट गर्ने व्यवस्था मिलाउने भएका छन्। बुधबार पत्रकारसँग कुरा गर्दै उनले यो अधिकार प्रयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

यसअघि संवैधानिक इजलासमा न्यायाधीशको चयन वरिष्ठताको आधारमा हुँदै आएको थियो। तर पछिल्लो समय अन्य न्यायाधीशहरूसँग राय बाझिन थालेपछि राउतले नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेका हुन्।

संवैधानिक इजलासमा धेरैजसो वरिष्ठताका आधारमा न्यायाधीशहरू राखिँदै आएका थिए। तर बुधबार प्रधानन्यायाधीश राउतले वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लपछिका चार जना वरिष्ठ न्यायाधीशहरूलाई नराखी इजलास गठन गरेका हुन्।

इजलासमा प्रधानन्यायाधीश राउतको नेतृत्वमा, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा राखिएका छन्।

मल्लपछिका न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र कुमार चुडाललाई छाडेर इजलास गठन गरिएको हो।

संविधानको धारा १३७ अनुसार प्रधानन्यायाधीश आफैले संवैधानिक इजलासमा न्यायाधीश गठन गर्न सक्छन्।