रौतहट । रौतहटको गौर नगरपालिका–९ मुडबलवा प्रवेशद्वार नजिकै शनिबार राति सुटकेशभित्र भेटिएको २६ वर्षीया रुबीकुमारी साह सुडीको हत्या प्रकरणमा संलग्न लक्ष्मण पासवानलाई प्रहरीले घाइते अवस्थामा पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार बुधबार बिहान करिब ८ बजे माधवनारायण नगरपालिकाको बिसुनपुरवा–मानपुर जाने बाटोमा पासवानलाई शरीरमा आगो लगाएको अवस्थामा फेला पारिएको हो। आत्महत्याको प्रयास गरेको बुझिएपछि उनलाई नियन्त्रणमा लिएर उपचारका लागि गरुडास्थित बेटर अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।
गत शनिबार गौर–गंगापिपरा सडकखण्डको पश्चिमपट्टि सुटकेशमा रुबी साहको शव भेटिएको थियो। घटना सार्वजनिक भएपछि प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार पासवानले रुबीको हत्या गरी शवलाई ई–रिक्सामा राखी सडकसम्म पुर्याएको खुलेको छ। शव भएको सुटकेश पुर्याउने रिक्साचालक यसअघि नै पक्राउ परिसकेको छ।
रुबी साह रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरकी रहकी हुन्। हाल उनी गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।