शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उखु किसानलाई अनुदान रकम निकासा, बिहीबारसम्म खातामा पुग्ने

बुधबार, भाद्र ११ २०८२

काठमाडौं । सरकारले उखु किसानलाई दिने प्रोत्साहन तथा अनुदान रकम निकासा गरेको छ

। अर्थ मन्त्रालयले यसका लागि कुल ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ निकासा गरेको हो। उक्त रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानहरूको बैंक खातामा बिहीबारसम्म भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

यसअघि मन्त्रिपरिषद्ले उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो। तर प्राविधिक कारण देखाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेपछि किसानले आन्दोलन चर्काएका थिए। किसानहरू गत केही दिनदेखि काठमाडौंमा प्रदर्शनमा उत्रिएका थिए।

उखु किसानले विगतमा प्रतिक्विन्टल ७० रुपैयाँ प्रोत्साहन पाउँदै आएका थिए। कृषि मन्त्रालयले यस पटक पनि त्यही दर कायम गर्ने प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै ३५ रुपैयाँ मात्र दिने निर्णय गरिएको हो।

यसैबीच सिंहदरबारस्थित कृषि मन्त्रालयमा किसान प्रतिनिधि र मन्त्रालयका अधिकारीबीच वार्ता भएको छ। वार्तामा मन्त्रालयतर्फबाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, उपसचिव लालकुमार श्रेष्ठ, मणिरत्न अर्याल तथा उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी भएका थिए। किसानतर्फबाट श्यामबाबु रायलगायत उपस्थित रहेका थिए।

गत मङ्गलबार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उपमहानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेका थिए।