बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिमा ईश्वरीदेवी न्यौपानेलाई अघि सार्ने कांग्रेसको निर्णय

मंगलबार, भाद्र १० २०८२

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिको उम्मेदवारका रूपमा ईश्वरीदेवी न्यौपानेलाई अघि सार्ने निर्णय गरेको छ ।

मंगलबार बसेको पदाधिकारी बैठकले समितिका सदस्य समेत रहेकी न्यौपानेलाई सभापति बनाउने निष्कर्ष निकालेको हो ।

यसअघि समितिको सभापतिमा दिलेन्द्रप्रसाद बडूलाई बनाउने तयारी भए पनि अन्तिम समयमा आएर संसदीय सुनुवाइ समितिकी सभापति रहेका न्यौपानेलाई त्यहाँबाट राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय गरिएको हो ।

सभापति पदका लागि मंगलबार मनोनयन दर्ता र बुधबार निर्वाचनको तालिका तय भएको छ । साउन २८ गते कुलिङ पिरियड विवादमा नैतिक जिम्मेवारी लिँदै तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि समिति सभापति पद खाली भएको थियो ।

रिक्त पदका लागि दिलेन्द्र बडू, सरिता प्रसाई र अम्बिका बस्नेतलगायतका सांसद आकांक्षी देखिएका भए पनि अन्ततः कांग्रेसले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।