काठमाडौँ । नेपालको उपराष्ट्रपति रामसहायप्रसाद यादव र तीनदिने औपचारिक भ्रमणमा नेपाल आएको भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ।
आजको भेटमा दुवै उपराष्ट्रपतिबीच धार्मिक समानता, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका अवसर, द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीका अनुसार भेटवार्ता मित्रवत्, न्यानो र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
उहाँहरुले दुवै मुलुकबीच मित्रता, सद्भावना र सार्वभौमिकताको सम्मानमा आधारित सम्बन्धलाई बलियो बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा साझा दृष्टिकोणमा अघि बढ्ने विषयमा छलफल गर्नुभएको छ। साथै मन्त्रालयगत र विभिन्न तहमा भ्रमण आदानप्रदान गर्ने सहमति भएको छ।
भेटमा हवाई उडान सम्बन्ध विस्तार, उच्च आर्थिक वृद्धिदर भएका भियतनामबाट नेपालले सिक्नसक्ने विषय, लगानीका अवसर, द्विपक्षीय व्यापार, डिजिटल प्रविधि र जनस्तरको सम्बन्ध प्रवर्द्धनबारे पनि कुराकानी भएको अधिकारीले जानकारी दिए।
यो भ्रमण भियतनामका उपराष्ट्रपति तर्फबाट पहिलो उच्चस्तरीय भ्रमण भएको र यस वर्ष नेपाल–भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ परेकाले विशेष महत्वका साथ हेरिएको छ। उपराष्ट्रपति सुआन उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार नेपाल आएका हुन् र भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ।