बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भियतनामकी उपराष्ट्रपति सुआनले आज उच्चस्तरीय भेटवार्ता र पत्रकार सम्मेलन गर्दै

आइतबार, भाद्र ८ २०८२

काठमाडौं । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनले आज आफ्नो दोस्रो दिन उच्चस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ।

आज बिहान ११ बजे काठमाडौंको होटल याक एण्ड यतिमा सुआन र नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता तथा संयुक्त पत्रकार सम्मेलन हुने तय भएको हो। वार्तामा व्यापार, लगानी, जलविद्युत तथा सांस्कृतिक सहकार्यका विषयमा छलफल हुनेछ।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्षको अवसरमा भएको यो भ्रमण भियतनामबाट नेपालको पहिलो उच्चस्तरीय भ्रमण हो। शनिबार काठमाडौं आइपुगेकी सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

नेपाल र भियतनामबीच १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। हाल दुई देशबीचको वार्षिक व्यापार १०० मिलियन डलरभन्दा कम भए पनि तनहुँ जलविद्युत आयोजनामा भियतनामको सङ दा कर्पोरेसन र नेपालको कालिका समूहबीचको साझेदारीले जलविद्युत क्षेत्रमा सहकार्यको सम्भावना उजागर गरेको छ। यस भ्रमणले व्यापार र लगानी विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा सुआनलाई परराष्ट्रमन्त्री डा. अर्जु राणा देउवाले स्वागत गरेका थिए। देउवासँगको भेटमा नेपाल–भियतनाम सम्बन्ध सुदृढीकरण र आर्थिक साझेदारीका विषयमा छलफल भएको थियो। आगमनको अवसरमा नेपाल आर्मीले उनलाई गार्ड अफ अनरसमेत प्रदान गरेको थियो।

भोलि सोमबार उपराष्ट्रपति सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने र काठमाडौं तथा ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको भ्रमण गर्ने कार्यतालिका रहेको छ।