बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भाद्रकृष्ण औँसी : बिहानैदेखि गोकर्णेश्वर पितृतीर्थ धाममा हजारौँ भक्तजनकाे भिड

शनिबार, भाद्र ७ २०८२

काठमाडौँ  । भाद्रकृष्ण औँसीका अवसरमा आज बिहानैदेखि गोकर्णेश्वर पितृतीर्थ धाममा हजारौँ भक्तजन तर्पण, सिदादान र पिण्डदान गर्न पुगेका छन्।

सत्ययुगमा ब्रह्माले स्थापना गरेको मानिने यो तीर्थमा श्राद्ध गर्दा २१ पुस्तासम्मका पितृ तर्ने धार्मिक विश्वास छ। त्यसैले वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन, बौद्धमार्गी पनि बिहानैदेखि गोकर्णेश्वरमा भेला भएका छन्।

मेला लाग्ने भएकाले यस दिनलाई गोकर्णे औँसी पनि भनिन्छ। पितृश्राद्धसँगै पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा गर्ने प्रचलन छ। यही कारणले पशुपतिनाथ दर्शन गर्ने भक्तजन गोकर्णेश्वर महादेवको पनि दर्शन गर्छन्।

भीड व्यवस्थापनका लागि सुन्दरीजल–जोरपाटी हुँदै वाग्मती कोरिडोरमार्गमा सवारी आवागमन रोकिएको छ। ट्राफिक प्रहरी, स्वयंसेवक, स्वास्थ्यकर्मी र खोजतलास टोली परिचालन गरिएको गोकर्णेश्वर मेला समितिका संयोजक जयराम महतले जानकारी दिए।

तर, दर्शनार्थीले उचित व्यवस्थापन नभएको गुनासो गरेका छन्। डोल्पाबाट आएका रणेन्द्र बुढाथोकीले साँघुरो बाटो र यातायात असुविधाले निकै दुःख पाएको बताए। सार्वजनिक जमिनमा घर निर्माणले बाटो साँघुरो बनेको र तीन तहका सरकारको ध्यान नपुगेको भक्तजनले आरोप लगाए।

बौद्ध धर्मावलम्बीले पनि गोकर्णमा श्राद्ध र पूजा गरी भोज खाने चलन छ। गुरु डुण्डुप लामाका अनुसार आजको दिन यहाँ दर्शन गर्दा दिवङ्गत पिताको स्वरूप देखिन्छ भन्ने विश्वास छ।

यसै दिन हिन्दू धर्मावलम्बीले घरमा धार्मिक कृत्यका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन्। कुशलाई भगवान् विष्णुको प्रतीक मानिन्छ। साथै, बाबुलाई मीठो खानेकुरा खुवाई बाबुको मुख हेर्ने दिन पनि देशभर मनाइँदैछ।