बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा कायम गर्न सांसदहरूको अडान

शुक्रबार, भाद्र ६ २०८२

काठमाडौँ  । सङ्घीय निजामती सेवा विधेयकमाथि भइरहेको छलफलमा सांसदहरूले सहसचिव तहमा १० प्रतिशत पद खुला प्रतिस्पर्धाका लागि राख्नुपर्ने अडान दोहोर्याएका छन् ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको शुक्रबारको बैठकमा सांसदहरूले नयाँ पुस्तालाई अवसर दिन र विविधता सुनिश्चित गर्न खुला प्रतिस्पर्धा आवश्यक भएको तर्क प्रस्तुत गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले सहसचिव तहमा खुला व्यवस्था आवश्यक रहेको भन्दै समर्थन जनाएका थिए । सांसद पदम परियारले भने, “९० प्रतिशत पद त आन्तरिकबाटै भरिँदै आएका छन्, महिला र दलितलगायत वञ्चित समुदायलाई अवसर दिन खुला प्रतिस्पर्धा अनिवार्य छ ।”

सांसद विष्णुदेवी पुडासैनीले पनि नयाँ मान्छेलाई वञ्चित नगरिनुपर्नेमा जोड दिइन् । सांसद डा. बेदुराम भुसालले सहसचिव तहलाई जोखिम मोल्ने पद भन्दै खुला प्रतिस्पर्धाबाटै योग्य जनशक्ति भित्र्याउन सकिने बताए । सांसद कृष्णबहादुर रोकायाले सहसचिव मात्र नभई नासु तहसम्म पनि खुला अवसर दिनुपर्ने धारणा राखे । त्यस्तै, सांसद सुमित्रा बिसीले तल्लो तहका कर्मचारीको करियर विकास अवरुद्ध हुनेगरी व्यवस्था गर्न नहुने बताइन् ।

यसैबीच, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले भने प्रतिनिधिसभाले विवेकपूर्वक सहसचिवमा खुला नगर्ने निर्णय गरिसकेको स्मरण गराए । समिति सभापति तुलसाकुमारी दहालले पनि प्रतिनिधिसभाबाट आएको प्रावधानमा फेरबदल गर्न कठिनाइ रहेको जनाइन् ।