काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश नभई संघ नै रहेको बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल संघीय शासन व्यवस्थामा गइसके पनि संघ सरकार भने अझै संघीयतामा रुपान्तरण हुन नसकेको जिकिर गरे ।
महामन्त्री थापाले संविधान संशोधन अब अपरिहार्य भएको उल्लेख गर्दै काँग्रेस र नेकपा एमालेले सरकार गठन गर्दा नै संविधान संशोधनलाई प्राथमिकतामा राखिसकेकोले यसबारे कुनै बहाना गर्न नहुने बताए । “संविधान संशोधनमा यो त्यो, संख्या भन्ने कुरा हुँदैन, जोखिम छ भने जोखिम उठाउनुपर्छ,” उहाँले भन्नुभयो, “मुख्य शक्तिहरुले अब जोखिम उठाउनैपर्छ ।”
उनले उपराष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्ष एउटै बनाउन सकिने, राष्ट्रिय आयोगहरूलाई मानव अधिकार आयोग अन्तर्गत ल्याउन सकिने तथा जिल्ला समन्वय समिति खारेज गर्ने माग उठेकाले यसबारे गम्भीर छलफल गर्नुपर्ने आवश्यकता औंल्याए ।
थापाले संसदलाई अझ समावेशी बनाउनुपर्ने, देशको स्थायित्वका लागि पाँच वर्ष एउटै दलले नेतृत्व गर्ने अवस्था सिर्जना गर्नुपर्ने तथा न्यायपालिकाको सुधारबारे समेत छलफल गर्नुपर्ने धारणा राखे ।
“अदालतमाथि यति धेरै प्रश्न उठेको अवस्था यसअघि मैले देखेको थिइनँ,” उनले भने, “अब न्यायपालिकालाई समेत जनविश्वास पुनः स्थापित हुने गरी सुधारको बहस अघि बढाउनैपर्छ ।”