बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

भारत र चीनले नेपालको संवेदनशील चासोलाई बेवास्ता गरेको एमालेको आरोप

शुक्रबार, भाद्र ६ २०८२

महोत्तरी  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले भारत र चीनले नेपालको सहमतिबेगर लिम्पियाधुरा नाका व्यापारिक प्रयोजनमा खोल्ने सहमति गरेर नेपालको संवेदनशील चासोलाई बेवास्ता गरेको आरोप लगाएका छन्।

बर्दिवासमा प्रेस चौतारी नेपाल, महोत्तरीले विहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले भने, “हामीले बनाएको नक्सा १८१६ को सुगौली सन्धिअनुसार महाकाली वारिको भूभाग समेटेर तयार गरिएको तथ्यमा आधारित छ।”

उनले चीन–भारतबीचको पछिल्लो सहमतिमा नेपाललाई समावेश नगरिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी सद्भावना भ्रमण त्यसका कारण रोकिने अवस्था नरहेको स्पष्ट पारे।

उनका अनुसार नेपाल आपसी संवाद र छलफलमार्फत समस्याको समाधान खोज्ने पक्षमा छ र त्यसको अवसर सद्भावना भ्रमणमै प्राप्त हुने अपेक्षा गरिएको छ। लिपुलेक प्रकरणमा नेपालले दुवै छिमेकीलाई कूटनीतिक नोटमार्फत आफ्नो असहमति जनाइसकेको स्मरण गराउँदै पोखरेलले अब भारत र चीन दुवैले तार्किक निष्कर्ष दिनुपर्ने बताए।

महासचिव पोखरेलले राजनीतिक स्थायित्व र समृद्धि आफ्नो दलको मुख्य ध्येय भएको उल्लेख गर्दै पार्टी गतिविधि अहिले यही उद्देश्यमा केन्द्रित रहेको बताए। उनले आसन्न दोस्रो विधान महाधिवेशनलाई नीति र विधिका माध्यमले एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने अवसरका रूपमा लिएको बताए।

उनका अनुसार हालको सरकारले राजस्व, निर्यात र पुँजीगत खर्च वृद्धि गरी आर्थिक सुधारमा प्रगति गरेको छ र अब बाँकी कानुन निर्माणमार्फत संघीयता कार्यान्वयनमा सरकार केन्द्रित हुनुपर्ने आवश्यकता छ।

साथै उनले एमाले र कांग्रेसबीच सरकार गठनका बेला भएको संविधान संशोधनको सहमति कार्यान्वयनमा जाने बताएका छन्। “यसै वर्ष हुने राष्ट्रियसभा निर्वाचनमा बलियो उपस्थिति बनाएपछि संविधान संशोधनको प्रक्रियामा प्रवेश गरिनेछ,” उनले पत्रकारलाई जानकारी दिए।

मधेस प्रदेशका अगुवा कार्यकर्तासँग विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, संगठनात्मक र विधान संशोधनबारे छलफल गर्न पोखरेल बर्दिवास आएका हुन्। पत्रकार सम्मेलनमा एमालेका सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य लिलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेल, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डललगायत सहभागी थिए।