चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव समूह चाँडै मूलधारको राजनीतिमा आउने विश्वास प्रकट गरेका छन् ।
मङगलबार चितवनको भरतपुर महानगरपालिकाको चौँथो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले विप्लवलाई सबैभन्दा नजिकबाट चिनेको भन्दै उनी विस्तारै राजनीतिक मूलधारमा आउने तयारीमा रहेको बताएका हुन् ।
‘म विप्लवलाई सवैभन्दा नजिकबाट चिन्छु । हुन त अहिले एक दुईवटा बम पड्किएका छन् । यो घटनाक्रमले पनि विप्लवलाई विस्तारै नयाँ सोँचतिर जान प्रेरित गरेको छ । जसरी साथिहरु यसअघि मूलधारमा आइरहनुभएको छ । त्यसैगरी विप्लव पनि आउनुहुन्छ’ प्रचण्डले भने, ‘म प्रति उनी (विप्लव) को मनमा घृणा छैन ।’
अध्यक्ष प्रचण्डले पहिल्यैदेखि विप्लवले आफुसँगको भेटमा र सँगै रहेका बेला मार्मिक कुरा गर्ने गरेको स्मरण गदै उनले भनेका कुराहरु आफूलाई समेत गहिरिएर सोच्न बाध्य बनाउने गरेको बताए ।
विप्लवले दिमाग नै खल्बल्याए
एउटा मिटिङमा बहस हुँदा विप्लवले आफ्नो दिमाग नै खल्बलिने गरी एउटा कुरा भनेको प्रचण्डले सुनाए । ‘त्यस मिटिङमा हामीलाई काठमाडौँ त ल्याउनुभयो कमरेड ! तर नुवाकोटको एक तामाङ समुदायकी महिलालाई काठमाडाँै लाने भनेर बम्बई लगेजस्तो त हुने होइन ? भनेर प्रश्न गर्नुभयो’ विप्लवको भनाइ उधृत गर्दै प्रचण्डले सुनाए ।
तर अब विप्लवले बम्बई लगेको रहेनछ, काठमाडाँै नै लगेको रहेछ भनेर बुझ्न थालेको मैले पाएको छु । प्रचण्डले विप्लवको समस्या देशमा अब धेरै दिन नरहने समेत बताए । ‘शान्तिपूर्ण समाधान हुन्छ–हुन्छ । यो लामो समय रहँदैन,’ प्रचण्डको भनाई छ ।