काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत आज पाँच समितिको बैठक बस्ने भएको छ। अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक तय भएको हो।
बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा हवाई तथा उड्डयन सुरक्षासम्बन्धी विषयमा कानूनी विज्ञहरूसँग छलफल हुनेछ। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक माथि छलफल हुनेछ।
यस्तै, बिहान ११:३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित र सम्मानित बनाउनुपर्ने विषयमा छलफल हुने छ। दिउँसो १२:१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।
त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन र आ.व. २०८२/८३ को कार्ययोजनाको मस्यौदा छलफल हुने कार्यसूची रहेको छ।