शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उपसभामुख अमेरिकाबाट फर्केपछि मात्रै प्रस्ताव दर्ता गर्ने कांग्रेस-एमालेकाे तयारी

बुधबार, भाद्र ४ २०८२

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रक्रिया अघि बढाएका छन् । उपसभामुख रानामगरलाई हटाउन दुई दलका सांसदहरूले हस्ताक्षर संकलन गरेका हुन् ।

कांग्रेस र एमालेले उपसभामुख रानामगरले पदअनुकूल आचरण नगरेको भन्दै महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

उपसभामुख रानामगरले आफूसहित पाँच जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन अमेरिकी दूतावासलाई लेखेको पत्रको विषयमा आचरणमाथि प्रश्न उठाउँदै सत्ता गठबन्धनले संविधानको धारा ९१ को उपधारा (६) अनुसार पदबाट हटाउन पहल भएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिमा २०८१ साउन १ गते उपसभामुख रानामगरविरुद्ध उजुरीसमेत परेको थियो । प्रतिनिधिसभा नियमावली २०७९ को नियम (१) अनुसार सभामुख वा उपसभामुखलाई हटाउन पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव ल्याउनुपर्ने हुन्छ ।

उपसभामुख राना अहिले अमेरिका भ्रमणमा छन् । व्यक्तिगत भ्रमणमा अमेरिका रहेका बेला उपसभामुखलाई पदबाट हटाउने तयारी भएको छ ।

उपसभामुखलाई हटाउनको लागि कांग्रेस एमालेले हस्ताक्षर संंकलन गर्दैगर्दा बसेको गठबन्धनको बैठकले प्रश्न उठेपछि यो विषयलाई निष्कर्षमा पुर्‍याउनु पर्नेबारे छलफल भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए।

उनले भने, ‘उहाँ अहिले संसद्को मामिला मार्फत विदेश जानुभएको छ वा निजी भ्रमणमा जानुभएको छ हाम्रो जानकारीमा भएन। उहाँको बारेमा प्रश्न उठेको छ। यसको निरूपण हुनुपर्छ कुन विधिबाट जाने भन्ने कुरा उपयुक्त समयमा उपयुक्त निर्णय गर्नुपर्ने बहस सिर्जना भएको छ।, हामी समय हेरेर गर्छौँ।’

उनले अहिले नै उपसभामुखविरुद्ध तत्कालै प्रस्ताव दर्ता गर्ने निर्णयमा नपुगेको बताए। उनले थपे, ‘भिजिट भिसा प्रकरणमा संसद् बहिस्कारको भइरहेको सबैले देखिराख्नुभएको छ। निरन्तर संंसदमा यो विषय उठ्छ भने संसदभित्र रहेको उपसभामुख जोडिएको विषय के हुन्छ ? भनेर हुने बहसलाई अन्यथा लिनु हुँदैन। यो बहसलाई बिट मार्नुपर्छ। सधैँभरी गरिराख्नु हुँदैन। तर हामी अहिले छलफलमा छौँ। उहाँविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने निष्कर्षमा पुगिसकेका छैनौँ।’

कांग्रेस एमालेले हस्ताक्षर सङ्कलन गर्दै दुई तिहाइ पुर्‍याउनको लागि साना दलहरूसँग पनि निरन्तर संवाद गरिरहेका छन्। उपसभामुख देश बाहिर हुँदा हटाउँदा नराम्रो सन्देश जाने भएकाले अब अमेरिकाबाट फर्केपछि मात्रै प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ।

दुई वर्षअघि उपसभामुख रानाले एक गैरसरकारी संस्था (एनजीओ)को कार्यक्रममा सहभागी हुन आफूसँगै पाँच जनाको भिसा अन्तर्वार्ताको मिति अगाडि सारिदिन अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । उक्त पत्र सार्वजनिक भएपछि उनको पदीय मर्यादामाथि सत्तारुढ दलका नेताहरूले प्रश्न उठाउँदै आएका छन् । यही आरोपका आधारमा उपसभामुख रानालाई राजीनामा दिन दबाब दिइएको थियो । तर, रानाले राजीनामा अस्वीकार गरेपछि सत्तारुढ दलहरूले अर्को बाटो रोजेका हुन् ।

उपसभामुख  राना र डा कोइरालाबीच फोन सम्वाद

यसैबीच उपसभामुख इन्दिरा राना र नेपाली कांग्रेसका शीर्ष नेता डा शेखर कोइरालाबीच फोन सम्वाद भएको छ ।

विशेष कार्यक्रममा सहभागी हुनको लागि उपसभामुख अमेरिकाको बोस्टनमा रहेको बेलामा यता नेपालमा भने उनलाई हटाउनको लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) का सांसदहरुले महाभियोग लगाउने उद्देश्यले हस्ताक्षर संकलन थालेका छन् ।

यही सन्दर्भमा शेखर र रानाबीच फोन सम्वाद भएको हो । उपसभामुख रानासँगको फोन सम्वादमा आफू यो दाउपेजको विपक्षमा रहेको शेखरले जानकारी गराएका थिए । यता, शेखर पक्षधर सांसदहरुले हस्ताक्षर नगरेको बताईन्छ ।