विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू कुनै राजनीतिक गुट चलाउन नआउने बताएकी छन्। विराटनगरमा पत्रकारसँगको संवादमा भण्डारीले आफ्नो राजनीतिक जीवनमा गुट निर्माण वा गुट सञ्चालन नगरेको स्पष्ट पारेकी हुन्।
उनी पत्रकारको प्रश्नको जवाफ दिँदै भनिन्, “म कुनै गुटमा संलग्न छैन ।” भण्डारीको यो स्पष्टिकरणले आगामी राजनीतिक गतिविधिमा उनको भूमिका र उदार दृष्टिकोणलाई अझ स्पष्ट बनाएको छ।
भण्डारीले भनिन्, “म नेकपा एमालेकै कार्यकर्ता हुँ। म पनि आलोचनाभन्दा मुक्त छैन। कोही पनि छैन। यस विषयमा धेरै छलफल गर्नु आवश्यक छैन।”
भण्डारीले राजतन्त्र र गणतन्त्रबीचको फरकसमेत स्पष्ट पार्दै भनिन्, “राजा व्यक्ति हो। राष्ट्रपति एउटा पद हो। आवधिक हुन्छ। जोसुकै जनताको छोरा निर्वाचित भएर राष्ट्रपति बन्न सक्छन्। उनीहरूले कार्यकाल सकिएपछि आफ्नो काममा फर्कन सक्छन्।”
साथै, उनले राष्ट्रपतिको कार्यकाल पूरा गरिसकेपछि आफूले पार्टी सदस्यता नवीकरण गरेको बताईन् । ‘राष्ट्रपतिको कार्यकाल सकिइसकेपछि मैले नवीकरण गरेको हो । औपचारिक रुपमा नवीकरण गरेको हो,’– उनले भनिन् ।
साथै, उनले आफ्नो नेतृत्वमा वाम एकताको सम्भावना बलियो नदेखेको पनि बताईन् । नेपालमा धेरै वामपन्थी दलहरु रहेको र उनीहरु सबैलाई मिलाउन गाह्रो हुने उनको भनाइ थियो । ‘नेपालमा यतिधेरै वामपन्थी पार्टीहरु छन् । सम्भावना नै छैन भनेर मैले भन्न पनि मिलेन । सम्भावना म त्यति बलियो देख्दा पनि देख्दिनँ,’– उनले भनिन् ।