शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सबै पक्षले पेरिस सम्झौताको प्रतिबद्धता पूरा गर्नुपर्छ : राष्ट्रपति पौडेल

सोमबार, भाद्र २ २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षले अनिवार्य रूपमा पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन्।

हिन्दुकुश–हिमालय क्षेत्रका मुलुकका सांसदहरूको सम्मेलनको उद्घाटन समारोहमा उनले विशेषगरी विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न सबैले सहयोग गर्नुपर्ने बताए।

राष्ट्रपति पौडेलले भने, “हिन्दुकुश–हिमालय क्षेत्र विश्व औसतभन्दा बढी दरमा ततिरहेको छ। हिमनदी द्रुत गतिमा पग्लिँदा बाढी र भूस्खलनजस्ता जलवायुजन्य विपद् बढेका छन्। हाम्रो क्षेत्रका जल, वन र उर्वर भूमि विश्वका दुई अर्बभन्दा बढी जनताको जीवन धान्ने आधार हुन्, तर अहिले संकटमा छन्।”

उनले जैविक विविधताको ह्रासले खाद्य सुरक्षा, सांस्कृतिक सम्पदा र समग्र अर्थतन्त्रमा नकारात्मक असर पुर्याएको उल्लेख गर्दै, सदस्य राष्ट्रहरूले जलविद्युत्, सौर्य ऊर्जा, सामुदायिक वन संरक्षण र जलवायुजन्य विपद् पूर्वसूचना प्रणालीमा गरेका पहलको प्रशंसा गरे ।

राष्ट्रपति पौडेलले नीति निर्माणमा वैज्ञानिक तथ्य र जनआवाजलाई आधार बनाउँदै, दीर्घकालीन, कार्यान्वयनयोग्य, र जनकेन्द्रित नीति आवश्यक रहेको र कानुनी ढाँचालाई सुदृढ पारेर जलवायु–मैत्री मापदण्ड, वायु प्रदूषण नियन्त्रण, र जैविक विविधता संरक्षण सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

सम्मेलनमा हिन्दुकुश–हिमालय क्षेत्रका सांसद, उच्च पदस्थ सरकारी प्रतिनिधि र जलवायु क्षेत्रका विज्ञहरू सहभागी छन्।