काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार ढल्ने हल्ला चलाउनेलाई ‘अस्थिरताको रोगी’ भनेका छन्।
सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस र एमालेबीच उच्चस्तरीय सहमतिमा बनेको गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने दाबी गरे।
उनका अनुसार, “दुई ठूला दल मिलेर सरकार बनेको छ, स्थिरता देखिएको छ। तर अस्थिरताको रोग लागेकाहरू आज–भोलि सरकार ढल्छ भन्दै हल्ला फैलाइरहेका छन्।”
महासचिव पोखरेलले कांग्रेस नेता शेखर कोइरालालाई लक्षित गर्दै, “सरकारमा हिस्सेदारी खोज्ने तर अर्कोतर्फ विरोध गर्ने कार्य अनैतिक” भएको टिप्पणी गरे।
मिडिया काउन्सिल विधेयकबारे उनले सूचनाको हक कुण्ठित नहुने स्पष्ट पार्दै, “संसद्ले संविधानसँग बाझिने कुनै कानुन बनाउँदैन, स्वतन्त्रताका नाममा अराजकता नियन्त्रण गर्ने मात्र हो” भने।
त्यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा उनले लोकतान्त्रिक पद्धतिको संस्थागत विकासका लागि राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले पुनः सक्रिय राजनीतिमा फर्किनु उचित नहुने धारणा व्यक्त गरे।