काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहले अपहरण गरी बन्धक बनाएका नेपाली युवा विपिन जोशीको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत् जानकारी सार्वजनिक गर्दै उनले विपिनको शीघ्र रिहाइका लागि सरकार निरन्तर पहलमा जुटिरहेको बताए । उनका अनुसार हालै विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पाले इजरायलस्थित नेपाली दूतावासको समन्वयमा इजरायलका राष्ट्रपति इसाक हर्जोग र संसद् अध्यक्ष आमिर ओहानासँग भेट गरी रिहाइको माग राखेका छन् ।
प्रधानमन्त्री ओलीले यसअघि पनि विपिनको अवस्थाबारे अन्तर्राष्ट्रिय तहमा पहल गरेको स्मरण गराउँदै मध्यपूर्व शान्ति प्रक्रियामा संलग्न टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग गत फागुन २८ गते टेलिफोन वार्ता गरेका थिए ।
“सरकार विपिनको सुरक्षित र शीघ्र रिहाइका लागि हरसम्भव पहल गरिरहेको छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् बताएका छन् ।
उनका अनुसार परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका नेपाली दूतावासमार्फत निरन्तर संवाद जारी राखेको छ । यस क्रममा सहयोग पुर्याइरहेका नेपाली तथा स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताप्रति प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले विपिनका परिवारलाई सरकार सधैं साथमा रहने आश्वासन पनि दिएका छन् ।