काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई शनिबार रूपन्देहीको कारागारबाट काठमाडौंस्थित नख्खु कारागारमा सारिएको छ ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनको आधारमा कारागार विभागले सरुवा गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार लामिछानेलाई शनिबार हवाईमार्गबाट काठमाडौं ल्याइएको थियो ।
बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको उनलाई कार्यकर्ताको ठूलो भिडबीच सुरक्षा निकायले छल्दै नख्खु कारागार पुर्याएको थियो ।
लामिछानेलाई स्वागत गर्न पार्टीका नेता–कार्यकर्ता र समर्थकहरू ठूलो संख्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर र बाटोमा भेला भएका थिए। भीड व्यवस्थापनमा चुनौती देखिएपछि प्रहरी प्रशासनले कडा सुरक्षा घेराबन्दीबीच उनलाई नख्खु कारागार पुर्याएको हो।
उनलाई विमानस्थलबाट ल्याउने खबर पाएसँगै पार्टीका नेता, कार्यकर्ताहरु त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र नख्खु कारागार बाहिर भेला भएका थिए ।
कारागार प्रशासनले उनलाई ४०० कैदी रहने ब्लकमा छुट्टै कोठामा राखेको छ ।