बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

आइतबार, भाद्र १ २०८२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गतको बेस्ट बैंक अवार्ड प्राप्त गरेको छ ।

बैंकिङ क्षेत्रको विश्वकै प्रतिष्ठित अवार्डमध्ये एक मानिने यो पुरस्कार युरो मनी म्यागजिनले १९९२ देखि प्रदान गर्दै आएको हो ।

बैंकले ग्राहक सेवामा निरन्तर सुधार, सबल वित्तीय अवस्था, सामाजिक उत्तरदायित्वमा सक्रियता, नवीनतम प्रविधिको प्रयोग, वातावरणीय तथा सुशासन क्षेत्रमा गरेको लगानी र उच्चस्तरीय कार्यसम्पादनका कारण यो अवार्ड पाएको हो ।

युरो मनी म्यागजिन बैंकिङ क्षेत्रमा गहिरो विश्लेषण र मूल्यांकनका लागि प्रख्यात संस्था हो, जसमा अन्तर्राष्ट्रिय स्तरका अनुभवी विज्ञहरूको सहभागिता रहेको छ ।

ग्लोबल आइएमई बैंक यसअघि पनि २०२२ र २०२४ मा युरो मनी अवार्ड फर एक्सलेन्सबाट सम्मानित भइसकेको छ । यसपालिको अवार्डसँगै बैंकले तेस्रोपटक बेस्ट बैंकको उपाधि हात पारेको हो । यस्तै, ग्लोबल फाइनान्सले पनि बैंकलाई २०२४ र २०२५ मा ‘बेस्ट बैंक अफ नेपाल’ घोषणा गरेको थियो ।

हाल बैंकले मुलुकका सबै ७७ जिल्लामा सेवा विस्तार गरेको छ । ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत बैंकले आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

बैंकले भित्रदेशीय सेवाका साथै अमेरिकादेखि यूके, क्यानडा, अष्ट्रेलिया, मलेशिया, कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशबाट रेमिट्यान्स भित्र्याउने कार्य पनि गर्दै आएको छ ।