आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भारतीय विदेश सचिव काठमाडौंमा

आइतबार, भाद्र १ २०८२

 काठमाडाैं । भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका छन् ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिश्री बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।

उनको यस भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भदौ ३१ गते प्रस्तावित भारत भ्रमणको तयारीसँग जोडेर हेरिएको छ ।

नेपाल बसाइका क्रममा मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कूटनीतिक स्रोतका अनुसार मिस्रीको नेपाल आगमनले दुई देशबीचको उच्चस्तरीय संवादलाई निरन्तरता दिनेछ र आसन्न प्रधानमन्त्रीस्तरीय भ्रमणका एजेण्डा तथा प्राथमिकताहरूबारे तयारी गर्ने अवसर उपलब्ध गराउनेछ ।

भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल-भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यहाँ रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन् । उनी सोमबार काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

भारतले नेपालसँगको सम्बन्धलाई आफ्नो छिमेकी प्रथम नीतिअन्तर्गत उच्च प्राथमिकतामा राख्दै आएको छ । यही सन्दर्भमा हालका वर्षहरूमा व्यापार, पूर्वाधार, ऊर्जा, स्वास्थ्य तथा जनस्तरको आदानप्रदान लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै भारतीय विदेश मन्त्रालयले नेपाल–भारत सम्बन्धलाई अझ गहिरो बनाउन दुवै देश प्रतिबद्ध रहेको जनाएको छ ।

भारत र नेपालबीचको सम्बन्धलाई ऐतिहासिक, घनिष्ठ र मित्रतापूर्ण बताउँदै भारतीय विदेश मन्त्रालयले मिस्रीको यो भ्रमणले दुई मुलुकबीचको आपसी विश्वास र साझेदारीलाई सुदृढ गर्ने अपेक्षा राखेको छ । यससँगै, नेपाल-भारत सम्बन्धलाई नियमित उच्चस्तरीय संवादमार्फत थप सशक्त बनाउने प्रयासमा यो भ्रमण महत्वपूर्ण कडी बन्ने बताइएको छ ।