बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बिपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

शनिबार, साउन ३१ २०८२

काभ्रेपलाञ्चोक । मनसुनका कारण बढेको जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले साँझ ५ बजेबाट बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो । यो रोक काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म लागू हुने जनाइएको छ ।

कार्यालयले सूचना जारी गर्दै बाढी–पहिरोको सम्भावित जोखिमका कारण विपद् न्यूनीकरणका लागि रातिको समयमा सवारी रोकिएको बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले राजमार्गका उच्च जोखिमयुक्त स्थानहरूलाई मध्यनजर गर्दै यो निर्णय गरिएको बताए ।

यसअघि पनि असार ७ गतेदेखि असोज मसान्तसम्म चरणबद्ध रूपमा राजमार्गमा राति सवारी रोक लगाइएको थियो । गत वर्षको असोज महिनामा आएको बाढी–पहिरोले चौकीडाँडादेखि वर्षेखोला (सिन्धुली) सम्मको करिब आठ किलोमिटर सडक बगाएको थियो । त्यसपछि कतै एकतर्फी र कतै अस्थायी सडक बनाएर आवतजावत गरिँदै आएको छ ।

१६० किलोमिटर लम्बाइको बिपी राजमार्गमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी गरी करिब ८४ किमी सडकमा बढी क्षति पुगेको थियो । क्षतिग्रस्त सडक स्थायी रूपमा पुनर्निर्माण गर्न चार खण्डमा विभाजन गरी ठेक्का प्रक्रियासमेत अघि बढाइएको छ ।

पूर्वी नेपाललाई छोटो दूरीमा राजधानीसँग जोड्ने महत्वपूर्ण मार्ग भएकाले बिपी राजमार्गमा दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने गर्छ ।