आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सचिवालय बैठक

रामकुमारी झाँक्रीको आत्मालोचना, विवाद टुंग्याउने पार्टीको निर्णय

वामदेव गौतमले पाए पार्टीको तेस्रो वरियतासहित वरिष्ठ नेताको जिम्मेवारी

शनिबार, साउन ३१ २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आत्मालोचना गरेकी छन्।

शुक्रबार बसेको सचिवालय बैठकपछि पार्टी प्रवक्ता प्रकाश ज्वालाले भविष्यमा यस्ता गल्ती दोहोर्‍याउने छैनन् भन्ने प्रतिबद्धतासहित आत्मालोचना प्रस्तुत भएको जानकारी दिए।

ज्वालाले झाँक्रीले दिएको स्पष्टीकरण र आत्मालोचनासहितको जवाफबारे छलफल भई अब यो विषय टुंग्याउने निर्णय भएको पनि बताए।

झाँक्रीलाई पार्टीले केही दिनअघि स्पष्टीकरण सोधेको थियो। उनले लेखित आत्मालोचना पेस गर्दै पार्टीको निर्णयअनुसार अघि बढ्ने अठोट व्यक्त गरेकी छन्।

प्रवक्ता ज्वालाका अनुसार झाँक्रीले दिएको जवाफलाई बैठकले स्वीकार गर्दै पार्टीभित्र आन्तरिक एकता र शुद्धिकरण प्रक्रियाको रूपमा लिएको छ।

अध्यक्ष माधवकुमार नेपालविरुद्ध अभिव्यक्ति दिएको भन्दै पार्टीले झाँक्रीलाई स्पष्टीकरण सोधेको थियो।

यस्तै एकीकृत समाजवादीले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियतासहित वरिष्ठ नेताको जिम्मेवारी दिएको छ ।

सचिवालय बैठकले गौतमलाई पार्टीको तेस्रो वरियतासहित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हाे । गौतमलाई सम्पूर्ण केन्द्रीय विभागहरू संयोजन गर्ने जिम्मेवारी पनि दिइएको प्रवक्ता ज्वालाले बताए।

त्यस्तै, नेकपा एकता राष्ट्रिय अभियानबाट पार्टीमा प्रवेश गरेका तीन जनालाई पोलिटब्युरो सदस्य र नौ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ।

बैठकमा वामपन्थी पार्टीहरूसँग भइरहेको एकता प्रक्रिया, रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचन र समाजवादी मोर्चालाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।