ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार शुन्यमा पु¥याउन केवल कानून कार्यान्वयन पर्याप्त नहुने बताएका छन्।
शुक्रबार ललितपुरमा आयोजित डिजिटल फ्रेमवर्क, २०२५ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि मानिसको आचरण, चरित्र र गुणस्तर (quality) वृद्धि आवश्यक रहेको बताए ।
प्रधानमन्त्री ओलीका अनुसार, “भ्रष्टाचार शुन्यमा पु¥याउन सक्छौँ, तर यसलाई केवल कानून कार्यान्वयनबाट मात्र सम्भव छैन। मानिसले आफूलाई ‘म गलत गर्दिन’ भन्ने प्रतिवद्धता लिएर आफ्नो चरित्र र आचरण विकास गर्नुपर्छ। कानूनले पत्ता लगाउने र कारबाही गर्ने काम महत्वपूर्ण छ, तर मुख्य कुरा भनेको मोडल एजुकेशन हो – जसले मानिसभित्रको राम्रो पक्ष उजागर गर्ने र नराम्रो पक्ष कमजोर बनाउने शिक्षा प्रदान गर्छ।”
उनले सामाजिक प्लेटफर्म र प्रविधिको सदुपयोगमा जोड दिए। प्रधानमन्त्री ओलीले भने, “सामाजिक प्लेटफर्ममा राम्रो बाटो समाउन सके र प्रविधिको उपयोग देश, जनता र मानव विकासका लागि गर्न सके अत्यन्त उपयोगी हुन्छ।”
त्यसैगरी, प्रधानमन्त्री ओलीले मानव मष्तिस्क भन्दा ठूलो कुनै चीज सिर्जना नभएको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता (AI) सँग नडराउन नागरिकहरूलाई आग्रह गरे ।
उनले शिक्षामा सुधार, गुणस्तरीय शिक्षा र सकारात्मक सामाजिक वातावरण निर्माण गरी भ्रष्टाचार नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे ।