बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

युवाहरू जागरुक हुँदै, देशमै रोजगारी सिर्जना गर्न पहल आवश्यक : प्रचण्ड

शुक्रबार, साउन ३० २०८२

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय देशभित्र “केही गरौँ” भन्ने भावनासहित युवाहरू जागरुक हुन थालेको बताएका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशका विभिन्न ठाउँमा यात्रा गर्दा युवाहरू र नागरिकहरू आफ्नै देशमा रोजगारी सिर्जना गर्ने गतिविधिमा सक्रिय भएको अनुभव आफूले पाएको जानकारी दिए। उनले यस पहललाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए।

उनले विदेश जाने मानसिकतालाई परिवर्तन गर्नुपर्ने औँल्याउँदै भने, “देशभित्र सम्भावना र स्रोतहरू प्रचुर छन्। हाम्रो गौरवशाली इतिहास, प्रकृति, संस्कृति, भाषा र विकासको मौलिक मोडेलले आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास सम्भव बनाउँछ।”

दाहालले भने, “हामीले आफ्नै देश, इतिहास, विकास प्रक्रिया र संस्कृतिप्रति गर्व गर्ने मानसिकता विकास गर्नुपर्छ। सकारात्मक सोच राख्दै रचनात्मक ढंगले काम अघि बढाउनु आजको ठूलो चुनौती हो।”

साथै, उनले पर्यटन विकासका लागि योजना बनाएर अघि बढ्नुपर्ने र पालिकाहरूले आफ्नै क्षेत्रको वस्तुस्थिति अनुसार प्राथमिकता निर्धारण गरी योजना बनाउन आवश्यक रहेको पनि उल्लेख गरे ।