काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित पूर्व महामन्त्री डा. मुकुल ढकालले सर्वोच्च अदालतको फैसलापछि कानुनले दिने अन्तिम अवसरसम्म लडाइँ जारी राख्ने बताएका छन्। सर्वोच्चले मंगलबार (साउन २७) उनको महामन्त्री पद पुनर्बहालीको माग गर्दै दायर गरिएको रिट खारेज गरेको हो।
फैसला आएपछि विज्ञप्ति जारी गर्दै ढकालले पार्टीभित्रको ‘रहस्यमयी आगन्तुकहरूको कब्जा’बाट रास्वपालाई जोगाउन अन्तिमसम्म प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश सदर गर्ने र आफ्नो रिट खारेज गर्ने न्यायाधीश एउटै व्यक्ति भएको उल्लेख गर्दै, अदालतको निष्पक्षतामाथि विश्वास कायम रहेको बताए।
“अदालत सधैं सही छ, न्यायाधीशहरू न्यायमूर्ति हुन्,” ढकालले भने। तर, उनले रविमाथिको कानुनी कारबाही र आफ्नो निष्कासनलाई एउटै शक्तिको षड्यन्त्रको परिणाम बताउँदै, रास्वपा राष्ट्र निर्माणको उद्देश्यबाट विचलित भएको आरोप लगाए।
रास्वपाले २०८१ भदौ ११ गते ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।