काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतको बोधगयामा भेटवार्ता हुने भएको छ।
भारतीय प्रधानमन्त्री मोदीको तर्फबाट भारतीय विदेश सचिव विक्रम मिस्रीले आगामी आइतबार काठमाडौं आएर निमन्त्रणापत्र हस्तान्तरण गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सामान्यतया विदेशी अतिथिसँग नयाँदिल्लीको हैदराबाद हाउसमा भेटवार्ता गर्ने परम्परा भए पनि, यसपटक नेपालका प्रधानमन्त्रीका लागि विशेष स्थानको रूपमा गौतम बुद्धले ज्ञान प्राप्त गरेको बोधगया चयन गरिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार दुई मुलुकका सरकार प्रमुखबीचको यो भेटवार्ता भदौ ३१ गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीको कार्यक्रम अन्तर्गत हुनेछ।
प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीको यो भारतको पहिलो औपचारिक भ्रमण हो।
भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार काठमाडौं आउने तय भएको छ। उनी प्रधानमन्त्री मोदीको तर्फबाट ओलीलाई औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्ने र भ्रमणको कार्यतालिका तथा बोधगया भ्रमण मार्ग तय गर्ने कार्यमा सहभागी हुनेछन्।