काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई आफ्नो मन्त्रालयमा नयाँ र युगान्तकारी (गेम चेन्जर) काम अघि बढाउन निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदान–प्रदान कार्यक्रममा उनले मुलुकलाई गरिबीको दुष्चक्रबाट मुक्त गर्न र उत्पादकत्व बढाउन तीव्र गतिमा काम गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले आगामी मङ्सिरभित्र दैलेखमा मिथेन ग्यासको परीक्षण उत्पादन, चीनमा निर्यात हुनेगरी व्यावसायिक भैँसीपालन, अग्र्यानिक खेती अभियान, सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउने काम, ज्येष्ठ नागरिक संवाद भवन निर्माण, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना, कीर्तिपुर क्रिकेट मैदान छिटो सम्पन्न र भक्तपुरमा ठूलो रङ्गशाला निर्माण तयारी गर्न सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराए।
त्यसैगरी, अन्तरिक्षमा नेपालको आफ्नै अर्बिट प्रयोग, रेल र सेक्युरिटी प्रेस सञ्चालन, रेल्वे विस्तार, सुनकोसी–मरिन, भेरी–बबई, काठमाडौं–तराई मधेस द्रुत मार्गलगायतका ठूला आयोजना छिटो सम्पन्न गर्ने, योग–आरोग्यता अभियान सञ्चालन गर्ने र मापदण्डका आधारमा कर्मचारी सरुवा गर्ने विषयमा पनि उनले निर्देशन दिए।
“यी प्रतिनिधिमूलक कुरा मात्र हुन्,” ओलीले भने, “भदौको अन्तिमतिर फेरि बैठक बसेर मन्त्रालयवार नयाँ र परिवर्तनकारी योजना निर्धारण गरौँ। मौलिक ढङ्गले अघि बढेर साँच्चै माइलस्टोन हुने काम गरौँ।”
कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/८३ का मुख्य काम र अपेक्षित उपलब्धि सम्बन्धी कार्यसम्पादन सम्झौता प्रधानमन्त्री र मन्त्रीबीच सम्पन्न भएको थियो। ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्य पूरा गर्न पूर्वाधार निर्माण र सेवा प्रवाह सुधारका कार्यलाई समयमै सम्पन्न गर्ने अभ्यास ओलीको अघिल्लो कार्यकालमै सुरु भएको हो।