मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

एमालेको विधान संशोधन प्रस्तावमा सुझाव सङ्कलन गर्न कार्यशाला

शुक्रबार, साउन ३० २०८२

काठमाडौँ । नेकपा (एमाले) को आगामी दोस्रो विधान महाधिवेशनमा पेश हुने विधान संशोधन प्रस्तावबारे सुझाव सङ्कलन गर्न ‘मानव अधिकार एलाइन्स’को आयोजनामा कार्यशाला सम्पन्न भएको छ। हाल पार्टीले देशभरका जिल्ला, प्रदेश तथा गैरभौगोलिक कमिटीमार्फत संशोधन प्रस्तावबारे छलफल र सुझाव सङ्कलन गरिरहेको छ।

कार्यशालामा पार्टी स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल र केन्द्रीय कमिटी सदस्य तथा मानव अधिकार एलाइन्स इञ्चार्ज विष्णु रिजालले प्रस्तावबारे प्रष्ट जानकारी दिँदै सहभागीहरूलाई थप सुझाव दिन आग्रह गरेका थिए।

ढकालले विधानसम्बन्धी आन्तरिक विवाद समाधान भएको दाबी गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे। उनले विवाद र विग्रह सिर्जना गर्ने प्रयास सफल नहुने बताए।

त्यसैगरी, रिजालले पार्टी नेतृत्व आवश्यकताअनुसार निर्माण हुने भन्दै अहिले केपी शर्मा ओलीको नेतृत्व अपरिहार्य रहेको टिप्पणी गरे। उनले उमेर सीमा सर्वकालिक सिद्धान्त हुन नसक्ने बताउँदै, ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले समेत नेतृत्व निरन्तरता दिने परिपाटी स्वीकार गरेको उदाहरण दिए।

एलाइन्स अध्यक्ष विदुर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले समूहगत छलफलमार्फत सुझाव दिएका थिए। पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तयार गरिएको संशोधन प्रस्ताव सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकबाट पारित भई मातहतका कमिटीमा पठाइएको हो।