आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सुदूरपश्चिममा बसाइँसराइका कारण पहाड रित्तिँदै, तराईमा जनचाप बढ्दै

बिहिबार, साउन २९ २०८२

भीमदत्त । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा तीव्र बसाइँसराइका कारण गाउँहरू खाली हुँदै गएका छन् भने तराईका जिल्लामा जनसङ्ख्या तीव्र गतिमा बढिरहेको छ। नौ जिल्लामध्ये कञ्चनपुरमा मात्र कुल जनसङ्ख्याको २० प्रतिशत बासोबास रहेको छ।

२०७८ को जनगणना अनुसार सुदूरपश्चिमको कुल जनसङ्ख्या २६ लाख ९४ हजार ७८३ मध्ये ५२.७७ प्रतिशत महिला र ४७.२३ प्रतिशत पुरुष छन्। रोजगारीका लागि भारत तथा तेस्रो मुलुकतर्फ जाने पुरुषको संख्या बढी भएकाले महिलाको अनुपात उच्च देखिएको हो।

तथ्याङ्कअनुसार अछाम, बैतडी, डोटी, बझाङ र डडेल्धुरामा जनसङ्ख्या घट्दो क्रममा छ भने दार्चुलामा वृद्धि दर शून्य छ। बाजुरामा सामान्य (०.२५%) वृद्धि देखिएको छ। तराईका कैलाली र कञ्चनपुरमा भने क्रमशः १.४८% र १.२५% वृद्धि दर छ।

तथ्याङ्क समन्वय कार्यालय धनगढीका प्रमुख गोविन्द न्यौपानेका अनुसार रोजगारी, शिक्षा र सेवाको खोजीमा पहाड–हिमालबाट तराई र सहरी क्षेत्रमा बसाइँसराइ बढ्दा जनसङ्ख्या वितरण असन्तुलित भएको हो। यसले तराईमा कृषियोग्य जमिन घटाउँदै पहाडमा बाँझो जमिन बढाएको छ।

कृषि क्षेत्रमा ३०% योगदान गर्ने यस प्रदेशमा उत्पादन घटे अर्थतन्त्रमा सङ्कुचन आउने विज्ञहरूको चेतावनी छ। कञ्चनपुर र कैलालीमा मात्र कुल जनसङ्ख्याको आधाभन्दा बढी बसोबास छ। कञ्चनपुरको भीमदत्त नगरपालिकामा मात्र १ लाख २२ हजार ३२० जनसङ्ख्या रहेको छ।

स्थानीय निकायहरूका अनुसार तराईको सुगम पहुँच र पूर्वाधारका कारण बसोबासको आकर्षण बढेको छ, तर स्रोत व्यवस्थापनमा दबाब बढ्दै गएको छ।

सुदूरपश्चिम विश्वविद्यालयका उप–प्राध्यापक शङ्करदत्त भट्टले पहाडी क्षेत्रमा तरकारी, फलफूल र पशुपालनको सम्भावना उपयोग गरी नमूना कृषि पकेट क्षेत्र विकास, सामूहिक खेती प्रोत्साहन, उत्पादन सुरक्षा, बजार पूर्वाधार, कृषि एम्बुलेन्स र चिस्यान केन्द्र निर्माणमा लगानी गर्न सुझाव दिएका छन्।

प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्दका अनुसार बसाइँसराइ नियन्त्रणका लागि एकीकृत बस्ती विकास, गुणस्तरीय शिक्षा, आवासीय विद्यालय, पर्यटन क्षेत्रको विकास र किसान–उद्यमीलाई अनुदान तथा कर्जा सुविधा आवश्यक छ।

यदि समयमै नीतिगत पहल नभए सुदूरपश्चिममा जनसङ्ख्याको असन्तुलन दीर्घकालीन चुनौती बन्ने चेतावनी विज्ञहरूले दिएका छन्।

रासस