आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

३२औं आईजीपी नियुक्तिको प्रक्रिया सुरु, खापुङ आईजीपीका एकल प्रतिस्पर्धी

प्रहरी इतिहासकै दोस्रो छोटो समयका लागि आईजीपी बन्दै

बुधबार, साउन २८ २०८२

काठमाडौं ।  विद्यमान प्रहरी ऐन र नियमावलीअनुसार हालका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा ३० वर्षे सेवा अवधिपूर्तिसँगै आगामी १८ भदौ राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका छन्। थापाको अवकाशपछि ३२औं आईजीपी नियुक्तिको प्रक्रिया सुरु हुने भएको छ।

थापा १९ भदौ २०५१ मा प्रहरी निरीक्षकमा प्रवेश गरेका थिए र ५ चैत २०८१ मा आईजीपीमा बढुवा भएका थिए। अवकाश नजिकिँदै गर्दा उनका ब्याचका एआईजी चन्द्रकुवेर खापुङ आईजीपीका एकल प्रतिस्पर्धीको रूपमा अगाडि देखिएका छन्।

खापुङ हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का निर्देशक रहेका छन् र उनी इमानदार तथा विवादरहित अधिकारीका रूपमा परिचित छन्।

उनको ब्याचका अन्य एआईजीहरू लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल उमेर हदका कारण क्रमशः अवकाश भइसकेका वा हुन लागेका छन्। त्यसैले खापुङको प्रतिस्पर्धा आफ्नो ब्याचभित्र छैन। तर, नियमावलीअनुसार अन्य एआईजीहरू पनि आईजीपीका दाबेदार बन्न सक्छन्। यसमा सिद्धिविक्रम शाह, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसी पनि छन्।

यदि खापुङ आईजीपी बने भने उनको कार्यकाल मात्र २ महिना ९ दिनको हुने सम्भावना छ, जसले उनलाई प्रहरी इतिहासमा दोस्रो सबैभन्दा छोटो कार्यकालका आईजीपी बनाउनेछ। यसअघि तोरण शमशेर जबरा ३ दिनका लागि मात्र प्रहरी प्रमुख बनेका थिए।

खापुङको कार्यकाल छोटो हुनुको कारण पनि ३० वर्षे सेवा अवधि हो, जसअनुसार उनी २६ कात्तिक राति १२ बजेबाट अवकाशमा जानुपर्नेछ। नयाँ प्रहरी ऐन लागू भई सेवा अवधि थप भए पनि उनी प्रतिस्पर्धामा रहनेछन्।

खापुङले डीआईजी हुँदा कोशी प्रदेशको कमान्ड सम्हालेका थिए भने एसएसपी रहँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका थिए। एउटै आवेदनमा फारम भरेका तीन जना-बसन्तबहादुर कुँवर, दीपक थापा र सम्भावित नयाँ आईजीपी खापुङ-तीनै जनाले फरक-फरक समयमा आईजीपी बन्ने दुर्लभ परिस्थितिसमेत बनेको छ।