बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गणतन्त्रको जगमा उभिएर समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको छः राष्ट्रपति पौडेल

मंगलबार, साउन २७ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको आधारमा उभिएर मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक जिम्मेवारी अब युवाको काँधमा पुगेको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले मुलुकको भविष्य निर्माणमा युवाहरू सक्षम भइसकेकोमा विश्वास व्यक्त गरे।

तनहुँको बाहुनपोखरामा सामान्य कृषक परिवारमा जन्मिएका आफूले अविकास, गरिबी, पछौटोपन र निरङ्कुशताको विरुद्ध युवावस्थामै सङ्घर्ष सुरू गरेको स्मरण गर्दै राष्ट्रपति पौडेलले क्रान्ति र परिवर्तनको कठिन यात्रापछि आजको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था सम्भव भएको बताए।

उनका अनुसार प्रविधि, नवप्रवर्तन, खेलकुद, सूचना प्रविधि र उद्यमशीलतामा नेपाली युवाले उत्कृष्ट क्षमता प्रदर्शन गरिसकेका छन्। यस क्षमतालाई दिगो विकास र देश निर्माणमा प्रयोग गर्न सबैले हातेमालो गर्नुपर्ने उनको भनाइ थियो।

राष्ट्रपतिले सरकारले सहुलियतपूर्ण कर्जा, युवामैत्री लगानी, नवप्रवर्तन र उद्यमशीलता विस्तारलाई प्राथमिकता दिएको बताए। विदेश पलायन रोक्ने र युवालाई स्वरोजगार तथा उद्यममा आकर्षित गर्ने नीतिलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उनले जोड दिए।

अन्तर्राष्ट्रिय युवा दिवसलाई युवा सहभागिता र सशक्तीकरणको साझा मञ्चको रूपमा व्याख्या गर्दै उनले दिगो विकास, एकता र ऐक्यबद्धता प्रवर्द्धनमा यसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि पनि सहभागी थिए।