आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मैले राखेको प्रस्ताव माधव नेपाललाई मुद्दाबाट मुक्त गर्न सहयोग पुर्‍याउन हाे : झलनाथ खनाल

सोमबार, साउन २६ २०८२

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्धको पतञ्जली जग्गा प्रकरणलाई लिएर आफूले राखेको प्रस्तावलाई बदलाको भावना वा सत्ताच्युत गर्ने प्रयोजनका रूपमा नबुझ्न आग्रह गरेका छन्।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै खनालले नेपालमाथि लागेको १९ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा संवेदनशील भएको उल्लेख गर्दै, आफूले सचिवालयमा प्रस्तुत गरेको प्रस्ताव उनको पक्षमा कानुनी र राजनीतिक सहयोग पुर्‍याउने उद्देश्यले तयार गरिएको स्पष्ट पारे।

उनले भने, “मैले प्रस्ताव राखेको कारण उहाँको मुद्दालाई अनुकूल बनाउन, प्रतिवादी पक्षलाई प्रभावकारी बनाउन र अन्ततः उहाँलाई मुद्दाबाट मुक्त गर्न सहयोग पुर्‍याउनु हो।”

खनालले कतिपय नेताहरूले यसलाई पार्टीकै मुद्दा वा राजनीतिक मुद्दा भन्दै गरिएको टिप्पणीलाई असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्मविपरीतको अभिव्यक्ति भनेका छन्। उनका अनुसार यस्तो धारणा राख्दा अध्यक्ष नेपाल झन् समस्यामा पर्ने खतरा हुन्छ।

उनले स्मरण गराए कि अतीतमा पनि विभिन्न नेताहरूमाथि राजनीतिक कारणले मुद्दा लगाइएका थिए र ती मुद्दाविरुद्ध कानुनी तथा राजनीतिक रूपमा लडाइँ लडिएको थियो। “यो प्रस्ताव कुनै बदलाको भावना लिएर आएको होइन, बरु पार्टीले क्रान्तिकारी हैसियत अनुसार कस्तो मानक कायम गर्ने भन्ने सोचका साथ माक्र्सवादी दृष्टिकोणबाट तयार गरिएको हो,” उनले स्पष्ट पारे।

खनालले परिपक्व ढंगले काम गर्न नेतृत्वलाई आग्रह गर्दै, अध्यक्ष नेपालमाथि लागेको मुद्दा समाधानका लागि सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिए।