आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रवि लामिछानेको रिहाइ माग सम्बन्धी निवेदनमा आज सुनुवाइ

सोमबार, साउन २६ २०८२

काठमाडौं । भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै दायर गरेको निवेदनमा आज जिल्ला अदालत रूपन्देहीमा सुनुवाइ हुँदैछ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै साउन १९ गते अदालतमा निवेदन दिएका थिए। अदालतले उक्त निवेदनमा सुनुवाइका लागि आजको मिति तोकेको हो।

लामिछानेले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंकमा दाखिला गरिदिएको दाबी गरेका छन्।

सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनी भैरहवा कारागारमै रहेका छन्।

यता रास्वपाले सभापति लामिछानेको रिहाइका लागि समर्थकहरूले हस्ताक्षर संकलन अभियान चलाएको छ ।

सो अभियानमा सहभागीहरूले लामिछाने निर्दोष रहेको दाबी गर्दै अदालतसँग उनको शीघ्र रिहाइको माग गरेका छन्।