काठमाडौँ । हिन्दू धर्मावलम्बीहरूको आस्था र विश्वासको पर्व साउनको अन्तिम सोमबार आज देशभरका शिवालयहरूमा भक्तजनहरूको भीड देखिएको छ। विशेषगरी पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुहरू पूजा, आराधना र जलाभिषेकका लागि लामबद्ध भएका छन्।
पशुपति क्षेत्र विकास कोषका अनुसार विहानदेखि नै हजारौं भक्तजनले लाइनमा बसेर शिवलिङ्गमा गंगा जल, बेलपत्र र धतुरालगायत सामग्री चढाएका छन्।
त्यसैगरी काठमाडौं बाहिरका प्रसिद्ध शिवालय—देवघाट, हलेसी, गोकर्णेश्वर, मकालु शिवालयलगायतका स्थानमा पनि श्रद्धालुको बाक्लो भीड देखिएको छ। भक्तजनहरूले यस दिनको पूजाले मनोकामना पूरा हुने विश्वास गर्ने परम्परा रहिआएको छ।