काठमाडौं । ३४१ मेगावाट क्षमताको प्रस्तावित बुढीगण्डकी हाइड्रोपावर परियोजना निर्माण गर्न वित्तीय व्यवस्थापन भएको छ । लामो समयदेखि लगानी जुट्न नसकेको अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाका लागि स्वदेशी बैंकहरुले लगानी गर्ने गरी बिहीबार सम्झौता भएको हो।
कुल ७० अर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा बैंक तथा वित्तीय संस्थाले ७५ प्रतिशत लगानी गर्नेछन् भने २५ प्रतिशत कम्पनीको स्वःपूँजीबाट लगानी जुटाइनेछ । उक्त आयोजना बनाउन विभिन्न ९ वटा बैंकहरुले ५२ अर्ब ५० करोड रुपैयाँ सहवित्तीकरणअन्तरगत लगानी गर्ने सम्झौता सम्पन्न भएको हो।
यो सँगै आयोजना निर्माणका लागि बाटो समेत खुलेको छ । बुढीगण्डकीसँगै साउन महिनामै २८५ मेगावाटको अपर तमोर र २१६ मेगावाटको अपर सेती जलविद्युत् आयोजनाका लागि समेत वित्तीय व्यवस्थापन जुटिसकेको छ । ती दुवै जलविद्युत् आयोजनामा समेत नेपालका वाणिज्य बैंकहरुले सहवित्तीयकरण अन्तरगत लगानी गर्नेछन्।