काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच शनिबार करिब एक घण्टा लामो संवाद भएको छ।
पछिल्ला दिनमा सार्वजनिक रूपमा एकअर्कामाथि तीव्र टिप्पणी गर्दै आएको दुवै नेताबीच दोस्रो तहका नेताहरुको पहलमा छलफल आयोजना गरिएको हो।
केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ९ बजे सुरु भएको छलफलमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल र महासचिव घनश्याम भूसाल उपस्थित थिए। सहभागीका अनुसार छलफलमा दुवै नेताले आफ्ना भनाइबारे प्रष्टोक्ति दिएका भए पनि निष्कर्षमा पुग्न सकेनन्।
हालै खनालले “विद्रोह पुष्टि गर्न नसकिएको” भनाइ दिएका थिए भने अध्यक्ष नेपालले “यस्तो अभिव्यक्ति दिने पार्टीबाट बाहिरिने” चेतावनी दिएका थिए। छलफलमा नेपालले आफ्नो आशय पार्टी छोड्न भन्ने नभएको स्पष्ट पारे भने खनालले पनि आफ्ना पुराना अडान दोहोर्याएका थिए।
खनालले पतञ्जली जग्गा प्रकरणमा अदालतमा मुद्दा चलिरहेका कारण माधव नेपालले कार्यबाहक नेतृत्व तोक्नुपर्ने प्रस्ताव राखेका थिए। उनले “मार्ग प्रशस्त गर्नु तपाईंको हितमा हुन्छ” भन्दै नैतिकता र राजनीतिक जिम्मेवारीसँगै जानुपर्ने अडान दोहोर्याएकाे स्रोतकाे दाबी छ । तर नेपालले विगतको सहकार्य र सम्बन्ध सम्झाउँदै छलफल टुंग्याएका थिए।
छलफलपछि माधव नेपाल पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन तराई प्रस्थान गरे भने खनाल डल्लु पुगेर वामदेव गौतमसँग चार घण्टा लामो भेटवार्ता गरेका थिए।
उनीहरूले अध्यक्ष नेपालसँगको सम्बन्ध र पार्टीको भावी कार्यदिशाबारे विस्तृत कुराकानी गरेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार वामदेव गौतमले पनि माधव नेपालप्रति असन्तुष्टि व्यक्त गरेका थिए।