आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

उत्तराखण्ड बाढीपहिरोमा जाजरकोटका सात नेपालीको ज्यान गयो, १७ जना अझै सम्पर्कविहीन

शुक्रबार, साउन २३ २०८२

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लाको हर्सिल उपत्यकामा आएको बाढीपहिरोले जाजरकोटका सात जना नेपालीको ज्यान गएको छ भने अन्य ६ जना अझै सम्पर्कविहीन रहेका छन्।

ज्यालामजदुरीको सिलसिलामा भारतको उत्तराखण्ड पुगेका जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउँका १३ जना नेपाली मजदुर बाढीपहिरोको चपेटामा परेका थिए। तीमध्ये सात जनाको मृत्यु पुष्टि भएको हो।

मंगलबार आएको बाढीपहिरोले धराली गाउँमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। मृत्यु हुनेहरूमा कुशे गाउँपालिका–२ का कर्णबहादुर सिंह (४२), रामबहादुर सिंह (४२), मानबहादुर सिंह (४५), निमबहादुर सिंह (३५), रविन सिंह (२४), जुम्ला तातोपानी गाउँपालिका घर भई ससुरालीमा बस्दै आएका जनकबहादुर शाही, र रुकुमपश्चिम घर भई ससुरालीमा बस्दै आएका एक अज्ञात व्यक्तिको पहिचान भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिएका छन्।

गाउँपालिकाले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै १३ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको पुष्टि गरेको छ। उनीहरू सडक, मन्दिर, र घर निर्माणको कामका लागि भारत गएका थिए।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जानकारी दिएका हुन् । उनले भने, ‘बाढीपछि बेपत्ता भएकाहरु हालसम्म सम्पर्कमा आएका छैनन्, उहाँहरुसित सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन् ।’

बेपत्ताको खोजी गरिदिन गाउँपालिकाका अध्यक्ष बस्नेतले परराष्ट्र मन्त्रालयसँग अनुरोध गरे । सोही क्षेत्रमा मजदुरी गर्दै आएका कुशे गाउँपालिकाका अन्य वडाका बासिन्दा पनि सम्पर्कमा नरहेको अध्यक्ष बस्नेतले बताए ।

यस्तै जाजरकोट घर भएका १३ जना र बर्दिया घर भएका ४ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन गुहारेका छन् ।