काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर–३ मा हुने आगामी उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ।
रास्वपाले ७ साउनदेखि २१ साउनसम्म उम्मेदवारीका लागि आवेदन आह्वान गरेको थियो। यस अवधिमा कुल ९ जनाले आवेदन दिएको लुम्बिनी प्रदेश इञ्चार्ज विपिन आचार्यले जानकारी दिएका छन्।
आवेदकहरूमध्ये सुलभ खरेलको नाम पहिलो नम्बरमा उल्लेख गरिएको छ। उनका साथै, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन्।
रास्वपाले उम्मेदवार बन्न चाहनेहरुबाट २५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको थियो।
यी उम्मेदवारप्रति केही गुनासा वा उजुरी भए केन्द्रीय निर्वाचन आयोग समक्ष दर्ता गर्न सकिने प्रदेश इञ्चार्ज आचार्यले बताए ।
उनका अनुसार साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिने, २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशित गर्नेछ । साउन २६ देखि भदौ ११ गतेसम्म पार्टीले अवलम्बन गरेको उम्मेदवार छनोट विधि अनुसार मापन गरिने आचार्यले बताए । भदौ १२ गते बिहानदेखि साँझ ५ बजे प्रारम्भिक निर्वाचन हुनेछ ।
पार्टीले प्राप्त आवेदकमध्येबाट अन्तिम उम्मेदवार चयन गर्ने प्रक्रिया अघि बढाएको छ। रास्वपाले भदौ १५ गतेभित्र अन्तिम उम्मेदवारको नाम सार्वजनिक गर्ने कार्यतालिका बनाएको जनाएको छ।