तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गरेका छन् ।
तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच ‘साइडलाइन’ भेट भएको हो ।
यसअघि हिजो प्रधानमन्त्री ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच दुईपक्षीय भेटवार्ता भएको थियो ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा तुर्कमेनिस्तानमा रहेका प्रधनमन्त्री ओलीले हिजो आयोजित ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा अति न्यून योगदान गरे पनि नेपालले जलवायु परिवर्तनको प्रतिकूल असर भोगिरहेको बताएका थिए ।
प्रधानमन्त्री ओलीले दिगो विकासको चुनौती सामनाका लागि समन्वयात्मक काम गर्न आग्रह गर्दै नेपालको हिमशृङ्खला पग्लने क्रमले मानवीय र भौतिक जोखिम हुने गरेकाले जलवायु परिवर्तनमा हिमालदेखि समुद्रसम्मको रक्षाको अवधारणाका साथ सगरमाथा संवाद कार्यक्रम आयोजना गरिएको स्मरण गराएका थिए ।
उनले नेपालले जलवायु जोखिम न्यूनीकरणका लागि दीर्घकालीन एकीकृत अनुकूलन रणनीति पनि तयार गरेकाले सोको कार्यान्वयनका लागि विदेशी साझेदार संस्थाहरुले पनि सघाउनुपर्नेमा जोड दिए ।
समृद्री सतह वृद्धिमा कारण हिमाल पग्लन थालेको तथ्य राख्दै उनले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना बनाउन विश्वसमुदायसँग आग्रह समेत गरेका थिए ।