काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीस्वरूप भारतले उच्च कूटनीतिक प्रतिनिधि विदेश सचिव विक्रम मिस्रीलाई नेपाल पठाउने भएको छ।
भारतीय विदेश सचिव मिस्री भदौ १ गते (अगस्ट १७) दुई दिने नेपाल भ्रमणमा काठमाण्डु आउँदै छन्। यो मिस्रीको एक वर्षभित्रको दोस्रो नेपाल यात्रा हुनेछ। उनले सन् २०२३ को अगस्टमा पहिलो पटक नेपालको परिचयात्मक भ्रमण गरेका थिए।
परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा मिस्री नेपाल आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार उनको भ्रमणले भारत–नेपाल सम्बन्धमा विश्वास र संवादको वातावरण बलियो बनाउने उद्देश्य राखिएको छ।
उनको यो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका लागि पूर्वतयारीका रुपमा हुनेछ ।
साथै उक्त उनको भ्रमणको सम्भावित कार्यसूचीमा केही समझदारी र सम्झौता दस्तावेजहरूमा छलफल हुने अनुमान गरिएको छ ।
अहिलेसम्मको कार्यतालिकाअनुसार प्रधानमन्त्री ओली २०८२ भदौ ३१ (सेप्टेम्बर १६) मा नयाँ दिल्ली प्रस्थान गर्नेछन्।
भोलिपल्ट सेप्टेम्बर १७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम तय गरिएको छ। त्यही दिन उनी नेपाल फर्किने तय भएको छ।