बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा दुई भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिहिबार, साउन २२ २०८२

काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई दुई फरक भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

विशेष अदालतका न्यायाधीश अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार थापालाई दोषी ठहर गर्दै संक्षिप्त आदेश सार्वजनिक गरेको हो।

पहिलो मुद्दामा मेयर थापा, विमलकुमार पोखरेल र सागर पौडेलले भरतताल निर्माणका क्रममा नदीजन्य पदार्थको अनियमित प्रयोग गरी सरकारी सम्पत्तिमा ३० करोड २९ लाख रुपैयाँ बराबरको हानि पुर्‍याएको ठहर गरिएको छ।

अदालतले उक्त मुद्दासँग जोडिएका अन्य व्यक्तिहरू लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई भने सफाइ दिएको छ।

दोस्रो मुद्दामा, विशेष अदालतले थापालाई ३ करोड ४५ लाख रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ। अदालतका अनुसार उनले वैध रुपमा ९ करोड १४ लाख रुपैयाँ आम्दानी गरे पनि १२ करोड ५९ लाख रुपैयाँको सम्पत्ति जोडेको पाइएको छ।

यस मुद्दामा थापालाई एक वर्ष कैद सजाय, ३ करोड ४५ लाख रुपैयाँ विगो र त्यही बराबरको जरिवाना तिराउने फैसला सुनाइएको हो।

दुई मुद्दामा दोषी ठहर भएका थापाको सजाय निर्धारणका लागि विशेष अदालतले २९ साउनमा अर्को पेशी तोकेको छ। कानुन अनुसार तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा छुट्टै सुनुवाइमार्फत सजाय तोकिने व्यवस्था छ।

२०७९ चैत २७ गतेदेखि भ्रष्टाचार मुद्दा लागेपछि थापा निलम्बनमा थिए, र अब दोषी ठहर भएपछि उनको निलम्बन यथावत रहनेछ।