बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता

बुधबार, साउन २१ २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो संयुक्त राष्ट्रसङ्घीय भूपरिवेष्टित विकासशील राष्ट्रहरूको (एलएलडिसी) सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा रहेका छन्। आज उनी विभिन्न महत्वपूर्ण कार्यक्रममा सहभागी हुँदैछन् ।

प्रधानमन्त्री ओलीले आज ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्टित विकासशील देशहरूले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमता र लचिलोपन’ विषयक सत्रलाई सम्बोधन गर्नेछन्। साथै, ‘व्यापार तथा वाणिज्यको सहजता र क्षेत्रीय सहकार्य’ विषयमा आयोजना गरिने छलफल सत्रको सहअध्यक्षता पनि उनले गर्नेछन् ।

प्रधानमन्त्री ओलीले आजै काजकस्तान, अजरबैजान र ताजकिस्तानका राष्ट्रपतिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

साउन २० देखि २३ गतेसम्म चल्ने उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विशेष रूपमा आमन्त्रण गरेका हुन्। सम्मेलनमा अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकाका ३२ भूपरिवेष्टित विकासशील देशहरू — जसको संयुक्त जनसङ्ख्या करिब ४४ करोड रहेको छ — को सहभागिता रहेको छ।

सम्मेलनमा भूपरिवेष्टित राष्ट्रहरूले अन्तरराष्ट्रिय व्यापारमा भोग्दै आएका समस्याहरू, समुद्री पहुँचको अभाव, पारवहन जटिलता, पूर्वाधारको अपुगता, तथा उच्च लेनदेन लागतका कारण उनीहरूको घट्दो प्रतिस्पर्धात्मक क्षमताबारे व्यापक छलफल भइरहेको छ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी छन्।

समुद्रमा प्रत्यक्ष पहुँच नहुँदा अन्तरराष्ट्रिय कनेक्टिभिटी, व्यापार र आर्थिक विकासमा पछाडि परेका भूपरिवेष्टित विकासशील राष्ट्रहरूका लागि यो सम्मेलन रणनीतिक साझेदारी, नवीन समाधान र लगानी प्रवर्द्धनमार्फत दिगो विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हो।