काठमाडौं । संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा छेडछाड भएको आरोपको छानबिन गर्न गठित संसदीय विशेष समितिले आज सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ।
समितिका संयोजक जिवन परियारले प्रतिनिधिसभाका सभामुख घिमिरेलाई औपचारिक रूपमा प्रतिवेदन बुझाएका हुन्।
समितिले २९ दिन लामो कार्यकालमा सरोकारवालासँग छलफल, दस्तावेज अध्ययन, र कानुनी विश्लेषणमार्फत प्रतिवेदन तयार पारेको हो।
संघीय निजामती सेवा विधेयकको प्रतिवेदन चरणमा ‘कुलिङ पिरियड’ समावेश गरिएको भन्ने गम्भीर आरोपपछि असार २३ गते प्रतिनिधिसभाले अध्ययन तथा छानबिनका लागि समितिको गठन गरेको थियो। समितिमा विभिन्न दलका ७ जना सांसद सहभागी थिए।