काठमाडौँ । साउन महिनाको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा पूजाआजा र दर्शन गर्न भक्तजनहरूको ठूलो भीड देखिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान ३ बजेदेखि मन्दिरका सबै ढोका खोलिएको हो। त्यसैबेलादेखि दर्शनार्थीहरूको घुइँचो लाग्न थालेको कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले जानकारी दिए ।
अन्य विशेष पर्वझैँ आज पनि भक्तजनका लागि चारवटा छुट्टाछुट्टै मार्गबाट मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ—गौरीघाट, मित्रपार्क, जयवागेश्वरी र पिङ्गलास्थान हुँदै मन्दिरमा पुग्ने।
साउने सोमबारलाई भगवान् शिवको विशेष दिन मानिन्छ। धार्मिक विश्वासअनुसार, आजको दिन स्नान गरी व्रत बसेर शिवपूजा गर्दा मनोकाङ्क्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने मानिन्छ। विशेषगरी विवाहित महिलाले श्रीमान्को दीर्घायुको कामनामा र अविवाहित महिलाले योग्य वर पाउने विश्वासमा व्रत बस्ने गर्छन्।
पशुपति क्षेत्रमा रातो र हरियो पहिरनमा सजिएका महिला भक्तजनले क्षेत्र पूरै भरिएको छ। भक्तजनको सहजता लक्षित गर्दै कोषले अतिरिक्त जुत्ताचप्पल कक्ष तथा निःशुल्क बस सेवा समेत सञ्चालनमा ल्याएको छ।
त्यसैगरी, राजधानीको गोकर्णेश्वर मन्दिरमा पनि बिहानैदेखि बालयन्त्रको दर्शन गर्न श्रद्धालुको घुइँचो लागेको छ। पशुपति र गोकर्णेश्वर मन्दिरमा दर्शन गरे मात्र पूजा पूर्ण हुने मान्यता रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
यसै अवसरमा ‘बोल बम’ यात्रा गर्दै सुन्दरीजलबाट काँवर बोकेर जल ल्याई पशुपतिनाथमा चढाउने भक्तजनको पनि उल्लेख्य उपस्थिति छ। यी भक्तजनले बीचका शिवालयहरूमा पनि जल चढाउने गर्दछन्। भगवान् शिवलाई जलधारा प्रिय हुने विश्वासले दूध, जल र बेलपत्र अर्पण गर्ने प्रचलन छ।
पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिरमा समेत दर्शनार्थीको ठूलो भिड देखिएको छ। मन्दिर व्यवस्थापन समितिले बिहान ३ बजेदेखि मन्दिरका ढोका खुला गरेको जानकारी दिएको छ। भारतीय भक्तजनसमेत दर्शनका लागि पुगेका छन्। राजधानीका अन्य शिवालयहरूमा पनि भीडभाड रहेको जनाइएको छ।
यस वर्ष साउनमा चारवटा सोमबार पर्न आएका छन्—५, १२, १९ र २६ साउन। आज तेस्रो सोमबारमा विगतका दुई सोमबारभन्दा बढी भीड देखिएको छ। विशेष कामनासहित व्रत बस्नेहरूले अन्तिम सोमबार गोदान एवं पूर्णपात्रसहित व्रत समापन गर्ने चलन रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।