आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

उपत्यकाको यातायात व्यवस्थापन सुधार्न निर्णायक कदम चाल्नुपर्नेमा मन्त्री दाहालको जोड

आइतबार, साउन १८ २०८२

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं उपत्यकाको अव्यवस्थित यातायात व्यवस्थापनलाई दिगो र सुविधायुक्त बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्।

आइतबार ललितपुरमा आयोजित काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कनसम्बन्धी सरोकारवालाहरूको बैठकमा मन्त्री दाहालले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई समेट्ने उपत्यका नेपालकै आर्थिक, प्रशासनिक तथा सांस्कृतिक केन्द्र भए पनि यहाँको यातायात प्रणाली अस्तव्यस्त र अनुपयुक्त अवस्थामा रहेको बताए।

“सन् २०१२ मा बनेको र २०१७ मा अद्यावधिक गरिएको गुरुयोजना पछिको अवस्थाले संकेत गर्छ—बढ्दो सवारीसाधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण ट्राफिक जाम, ढिलाइ र वायुप्रदूषण गम्भीर समस्याको रूपमा उभिएका छन्,” उनले भने।

मन्त्री दाहालले वर्तमान अवस्था जनस्वास्थ्य र आर्थिक उत्पादकत्वमा समेत नकारात्मक असर पारिरहेको बताउँदै थप ढिलाइ भए वातावरणीय दिगोपन नै संकटमा पर्ने चेतावनी दिए।

“यदि अहिले पनि निर्णायक कदम नचाल्ने हो भने अवस्था झनै बिग्रन्छ। यो परियोजना तत्काल र दीर्घकालीन समाधान खोज्ने अन्तिम अवसर हुन सक्छ,” उनले स्पष्ट पारे।

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले यातायात व्यवस्थापनका लागि मन्त्रालयको तर्फबाट पूर्ण सहयोग र समन्वय गर्न तयार रहेको प्रतिबद्धता जनाए।त्यसैगरी, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले काठमाडौं उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात प्रणाली आवश्यक भएको उल्लेख गर्दै बहुपक्षीय समन्वय अपरिहार्य रहेको बताए।

कार्यक्रममा सरोकार निकायका विज्ञहरूले गुरुयोजना र वातावरणीय मूल्याङ्कनसम्बन्धी अवधारणापत्रहरू प्रस्तुत गरेका थिए।