बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मुख्यमन्त्री लामाले राजीनामा दिँदै, बानियाँ मुख्यमन्त्री बन्ने

आइतबार, साउन १८ २०८२

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा अन्ततः पदबाट राजीनामा दिन सहमत भएका छन्। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएपछि लामामाथि राजीनामाको दबाब बढ्दै आएको थियो।

लामा संसदीय दलको नेताबाट पराजित भएपनि मुख्यमन्त्री पदमा यथावत् रहने अडानमा थिए। तर, केन्द्रीय सभापति शेरबहादुर देउवाको सल्लाह र निर्देशनपछि उनले राजीनामा दिन सहमति जनाएका हुन्। शनिबार बुढानीलकण्ठस्थित देउवा निवासमा भएको छलफलपछि लामा पदबाट बाहिरिन तयार भएका हुन्।

छलफलमा लामाले आफ्ना समर्थक सांसद गोबिन्द लम्साल ९धादिङ०, गीता गुरुङ र माया लामा ९चितवन० लाई नयाँ बन्ने मन्त्रिपरिषद्‌मा समावेश गर्ने सर्त राखेका थिए। बानियाँ पक्षले पनि सो सर्त स्वीकार गरेपछि लामा मार्गप्रशस्त गर्न राजी भएका हुन्।

यसअघि मन्त्रीहरुले एकपछि अर्को गर्दै राजीनामा दिएपछि लामाले आफ्नो पक्षमा रहेका तीन सांसदलाई मन्त्रीमा नियुक्त गरे पनि सपथ ग्रहण कार्यक्रम प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्य समस्याका कारण स्थगित भएको थियो।

लामाको राजीनामासँगै अब इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने प्रक्रिया अघि बढ्नेछ। शनिबारको छलफलमा बानियाँ, लामा तथा लामा पक्षका १४ जना सांसद सहभागी थिए। छलफलमा पार्टीभित्रको मतभेद मिलाउने र साझा सहमतिमा अगाडि बढ्ने विषयमा सहमति भएको लामाको सचिवालयले जनाएको छ।