आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै

आइतबार, साउन १८ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) तुर्कमेनिस्तान जाँदै छन् । प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।

यही साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमासमेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह-अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री र उच्चपदस्थ सरकारी अधिकारीहरूसमेत सहभागी हुने बताइएको छ । प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रत्येक १० वर्षमा हुने यो सम्मेलन यसअघि ३-५ नोभेम्बर २०१४ (१७–१९ कात्तिक २०७१) मा अस्ट्रियाको भियनामा भएको थियो । पहिलो सम्मेलन भने अर्काे मध्य एसियाली मुलुक कजाकस्तानको राजधानी अल्माटीमा सन् २००३ मा आयोजना गरिएको थियो ।