काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बिहान ११ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघि सारेको राजनीतिक प्रस्तावमाथि नेताहरूले आ–आफ्नो धारणा राख्नेछन्।
पार्टी उपमहासचिव हरिबोल गजुरेलका अनुसार प्रत्येक सदस्यलाई १० देखि १५ मिनेटसम्मको समय दिइनेछ। यद्यपि, छलफल र बहसको प्रकृति अनुसार बैठक लम्बिन सक्ने पनि उनले जनाएका छन्।
गजुरेलले भने, “अध्यक्षले प्रस्ताव पेस गरेपछि सबै सदस्यले धारणा राख्नेछन्। अहिले नै कसैलाई स्पष्टिकरण सोध्ने या अन्तरविरोध हल गर्नेभन्दा पनि सबैको विचार सुनिसकेपछि मात्रै निष्कर्ष निकाल्ने तयारी छ।”
पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा बीचको अन्तरविरोध खुल्ला रूपमा सार्वजनिक भएपछि बैठकप्रति विशेष चासो देखिएको छ।
शुक्रबारदेखि सुरु भएको बैठकले पार्टीभित्र देखिएको असहजता समाधानतर्फ डो-याउने कि झन् गहिराउने भन्ने प्रश्न उठिरहेको छ।
बैठकका क्रममा नेताहरूले नेतृत्वको कार्यशैली, नीति–दिशा, तथा संगठनभित्रको असन्तुलनबारे खुलस्त धारणा राख्ने अपेक्षा गरिएको छ। अबको केही दिन माओवादी केन्द्रको आन्तरिक राजनीति निर्णायक मोडमा पुग्न सक्ने अनुमान गरिएको छ।